सबै विश्वविद्यालयमा स्ववियु चुनाव गर्न प्रमुख तीन विद्यार्थी संगठनको माग


२७ फागुन,काठमाडौं। प्रमुख तीन विद्यार्थी संगठनहरूले सबै विश्वविद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन्।
आज राजधानीमा बसेको बैठकपछि अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
बैठकपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविधद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका सम्पूर्ण विश्वविद्यालय अन्तर्गतका सम्वन्धन प्राप्त तथा आंगिक कलेजहरुमा विद्यार्थीहरुको हकहितका लागि साझा, स्वतन्त्र र निर्वाचित मञ्चको रुपमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न सम्पुर्ण विश्वविद्यालयका उपकुलपति ज्युहरुलाई जोडदार माग गर्दछौं ।’
प्रमुख तीन विद्यार्थी संगठनले नेपालको संविधान अनुरुप शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न यसै शैक्षिक सत्रबाट लागु हुने गरी आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षाको ग्यारेण्टी गर्न सरकारलाई ध्यानाकर्षण पनि गर्ने भएका छन्।
उनीहरुले आगामी बजेटमा शिक्षा क्षेत्रको समग्र पुनःसंरचनाका लागि कम्तिमा २० प्रतिशत बजेट ग्यारेन्टी गर्न र शैक्षिक प्रमाणपत्र धितो राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्न पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् । ‘विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने सहमति र निर्णय तत्काल कार्यान्वयन गरियोस्,’ जारी विज्ञप्तिमा भनिएको छ।
मागहरु तत्काल सम्वोधन नगरिए कडा संघर्षमा उत्रन वाध्य हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
हेर्नुहोस् प्रमुख तीन विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

France vs Argentina 4-3 All Goals